हे वीर कमल थापा हिंड अघिसरी

म गणतान्त्रिक होइन; अनि म राप्रपा पनि होइन। अहिलेसम्मका दलबल हेर्दा
नेपालवादी समूहका नाइके चाहिं कमल थापा देखिएको  बेहोरा पनि म लुकाउन चाहन्न ।

फेरि म यति भन्छु "सम्वैधानिक राजसंस्था र हिन्दूधर्मका लागि कमल थापा
झैं गर्धन तेर्साएर निष्ठा पूर्वक हिंड्ने यस मुलुकमा अर्को राजनेता पनि मैले देखेको छैन।"

खास गरेर नारायणमान विजुक्छे रोहित र कमल थापाको अन्तर्वार्ता हेर्न पनि
म प्राय: पछि पर्दिन। कमल थापा जस्तै अडिग देशभक्त, जनभक्त र सम्वैधानिक
राजतन्त्रको वकालत गर्ने अर्को मान्छे पनि मैले देखेको छैन। थापाका
प्राय: भाषण, लेख र अन्तर्वार्ताहरुले पनि त्यही बेहोरा प्रस्ट्याएको हुन्छ।

कमल थापालाई म हार्दिक बधाई दिन चाहन्छु । उहाँले यही बाटोमा उक्लिरहनु
पर्छ । जसरी उहाँले बारम्बार "सिद्धान्त र निष्ठा  त्याग्दिन" भन्नु भएको
छ। त्यसरी नै उहाँले यही दिशामा यसरी नै निर्भीक भएर हिंडि‌रहनु पर्छ।
अनि एक दिन कमल थापासँगको साथमा करोडौं नेपाली हुनेछन्। तर अब परिमार्जित
राजतन्त्र र हिन्दूधर्मका लागि पनि थोरै सोच बनाउनु चाहिं पर्छ ! किनभने
खिया परेको फलाममा तेल नहाल्ने हो भने जस्तै बलियो फलाम पनि भाँचिन सक्छ।

"गरौं भलाई अर्काको भन्दाभन्दै ठगिएको
नगरूँ नहुने काम भन्दा बदनाम कमाएको।"

हो, अहिले कमल थापा माथि त्यही पीडा थुप्रिएको पनि हुन सक्छ। तर उहाँले
शत्रु खुसी पार्नका लागि कुनै पछुतो मान्नु पर्ने ठाउँ छैन। उहाँलाई
पछारेपछि नेपालको राष्ट्रवादी शक्ति वेवारिसे हुन्छ भनेर नै यति  बेला
उहाँ अथवा भनौं उहाँको सिद्धान्तलाई थिचोमिचो या सकेसम्म हरण नै गर्न
देशी र विदेशकै शक्ति उचालिएर लागिपरेको छ। ती शक्तिले यदि थापालाई हराउन
सके भने अहिलेको स्थितिमा हाम्रो राष्ट्रियता नै झनै कमजाेर भएर जानेछ।
वास्तवमा उहाँलाई चिथोरेर, नङ्याएर र गिराएर नेपालको स्वाभिमानको
तिलाञ्जली दिनेहरुको यहाँ अनिकाल लागेको छैन। आजको यस राष्ट्रको यस्तो
दुखद् अवस्थामा कमल थापाले बलियो खुट्टा टेक्नै पर्छ।

कमल थापाको मन, वचन र कर्मका कारण एक दिन यो मुलुक जुरूक्क उचालिन सक्छ।
त्यसपछि हामी नेपालीले हाम्रो सग्लो र सार्वभौम सम्पन्न नेपाल सहितको
सम्वैधानिक राजसंस्था र हिन्दूधर्म फिर्ता पाउन सक्ने छौँ भन्ने हामीलाई
विश्वास लागेको छ। त्यसैले देशभक्त नेपालीहरुको हृदयन्तरबाट आह्वान छ-

"हे वीर कमल थापा हिंड अघिसरी।"



Submitted by: Nai Prasai