डाक्टर, वैद्य र झाँक्री
वैद्य बा अहिले नेपाली राजनीतिमा चर्चाको शिखरमा छन् । संयोग भनौँ, एउटै पार्टीका शिर्षस्थ नेतामध्येमा एउटा डाक्टर र अर्को वैद्य भएकोले यसो बाङ्गोटिङ्गो लेखेर भातभान्सा चलाउने गरेका लेखन्दासहरुलाई यी दुवै डाक्टर र वैद्यलाई ट्याब्लेट दिने र ढुटो दिने चिकित्सकको रुपमा प्रस्तुत गर्न मजा आएको छ । हुनत यी दुवै न त ट्याब्लेट दिने डाक्टर हुन् न त ढुटो दिने वैद्य नै । जे होस् डाक्टर र वैद्यको उखान रमाइलो नै भएको छ । देश विरामी छ अनि डाक्टर र वैद्य दुवै देशको औषधि गर्ने बारेमा तँ छाड म छाड गर्दैछन् ।
माओवादीमा डाक्टर र वैद्य त छन् तर झाँक्री भने छैन । डाक्टर, वैद्य र झाँक्री समेत भएको भए सारै राम्रो हुने थियो । त्यसैले प्रचण्डलाई झाँक्री विद्या सिक्न पठाउन पाए, अति नै सिकोइन्स मिल्ने थियो । भैंसी पूजा गरेर तन्त्रमन्त्रमा श्रद्धा प्रकट गरेका प्रचण्डलाई झाँक्री बनाउन गाह्रो पनि हुने छैन र यसले उनको र पार्टीको सारै भलो हुने थियो ।
हुन त झाँक्री नै चाहिने भए तत्काललाई एमालेसँग सापटी माग्दा पनि हुन्छ । किनकि त्यहाँ पनि साँच्चिकै हैन वैद्यजस्तै एक झाँक्री छिन् । उनी खरी पनि छिन्, दरी पनि छिन् । महाकाली सन्धिको पनि विरोधमा थिइन् र अहिले बिप्पाको पनि विरोधमा नै छिन् । उनमा सिङ्गो देशको विद्यार्थीलाई हाँकेको अनुभव पनि छ ।
डाक्टर, वैद्य र झाँक्री जुटाउन सके माओवादी पार्टी अझै शोभायमान हुने थियो । अनि सिद्धान्तको कुरा भन्दा डाक्टर, वैद्य र झाँक्री भनेर झगडा गर्दा झनै रमाइलो पनि हुने थियो । तर एमालेकी झाँक्री माओवादीले सापटी लिन निकै गाह्रो छ, त्यसैले प्रचण्डलाई ने झाँक्री बनाउनु सारै अब्बल काम हुनेछ । यदि प्रचण्ड मानेनन् भने अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि छन् । उनी त झन् धामी–झाँक्रीजस्तै छन् । जस्तो भूमिका पनि निभाउन सक्छन् ।
आवश्यक पर्दा डाक्टर र वैद्यकहाँ पनि पुग्न सक्छन् । डाक्टर वैद्यलाई जुटाउन पनि सक्छन्, फूटाउन पनि सक्छन् ।
देश बिरामी छ, त्यसैले डाक्टरसाब उपचारमा लागेको बताउँदै छन् । वैद्य भने डाक्टरको उपचारले देश झन् थलिन लागेको भन्दै सडकमा नै खलबच्चा खेलाउन थालेका छन् । बिप्पा संझौतारुपी भाइरस सल्किएको पनि उनी आरोप लगाउँदैछन् । डाक्टर र वैद्यको खिचातानीमा विरामी देश निर्णयहीन छ– कसको कुरा मान्नु, कसको कुरा पत्याउनु । कसको कुरा सुन्नु, कसको कुरा नसुन्नु । के गर्नु, के नगर्नु । निर्णयविहीन छ देश ।
- महर्षि गौतम
(साभार: नेपाली सन्देश साप्ताहिक)