Share on facebook

विनासकाले विपरित बुद्धि !

विराटनगरका एमाले डन पर्शुराम बस्नेतको कारण एमाले नेता केपी ओली र एमाले युवा संघका नेता महेश बस्नेत सारै चर्चामा आए । लेख्नेले लेखेर, बोल्नेले बोलेर, व्यङ्ग्य गर्नेले व्यङ्ग्य गरेर, गीत गाउनेले गीत गाएर, केपी ओली र महेश बस्नेतको भरमार विरोध गरे । तर पनि ओली र बस्नेतलाई केही भएन, लाजै लागेन । अनि आम जनताले ‘राजनीतिमा लाज भन्ने कुरा नै हुँदो रहनेछ’ भन्दै चित्त बुझाए ।

अहिले फेरि अर्को त्यस्तै काण्ड घटेको छ । चितवनका चमेरे ग्रुप र कमिला ग्रुप बीचमा । चमेरे ग्रुप रहेछ एमालेको र कमिला ग्रुप रहेछ कांग्रेसका । चमेरे र कमिला ग्रुपका बीच चितवनको भूमिगत संसार कब्जा गर्ने सवालमा लडाइँ हुन थाल्यो । कमिला ग्रुपले चमेरा समूहको व्यक्ति मा¥यो । जसले गर्दा यी दुई समूहको एउटै कारागारमा भेटघाट पनि हुन पुग्यो । अन्तमा कारागारभित्रै फेरि लडाइँ भयो । यस लडाइँमा कमिला समूहका शिवराज पौडेलको ज्यान गयो ।

साँचो कुरा यत्ति नै हो । आफूलाई कांग्रेस भने पनि वा एमाले भने पनि यी दुवै समूह खाओवादी समूह नै हुन् । आफ्नो खाओवादलााई हराभरा बनाउन यिनीहरु राजनीतिक पार्टीको पाएसम्म गतिलै पद पड्काउन पनि चाहन्छन् र धन र बलको धाकले सफल पनि हुन्छन् ।

तर, अनौठो कुरा नेपालमा सबभन्दा पुरानो र अनेक घुम्ती र मोडको इतिहास बोकेको पार्टी नेपाली कांग्रेसले कमिला ग्रुपका शिवराज पौडेललाई शहीद घोषणा ग¥यो र सरकारले पनि शहीद घोषणा गर्ने भएको छ । अनि हत्या आरोपित व्यक्तिको मुद्दा फिर्ता गराउने माग राखेकोमा सरकारले त्यो माग पनि पुरा गरिदिने भएको छ ।

शिवराज पौडेल मात्र होइन, आम नागरिकलाई न्याय दिलाउन नेपाली कांग्रेस लाग्नुपर्छ । किनकि ऊ प्रमुख प्रतिपक्षी पार्टी पनि हो । साथै मारिनु कोही पनि हुँदैन चाहे कमिला हुन्, चाहे चमेरा । तर यी सबको उपचार कानूनभित्रैबाट खोज्नुपर्छ । अनि कुनै पार्टी जोडिनासाथ कोही पनि मारिएको व्यक्तिलाई शहीद बनाउनै पर्छ भन्ने खालको सोच लोकतन्त्रमा सुहाउने कुरा होइन । हत्याको आरोप खेपीरहेको व्यक्तिलाई ‘शहीद’बनाउन तयार हुनु यो लोकलाजतन्त्र हो, लोकतन्त्र होइन ।

हरे शिव ! कांग्रेसको त सोचाईमा यस्तो गरिवी छ भने एकदलीय शासनको धङधङी बाँकी रहेका अरुलाई अब के भनेर गाली गर्ने । उनीहरुलाई के भनेर उदाहरण दिने । जस्ता पनि शहीद, जे गरे पनि शहीद । लौ यसै हो भने अघिल्लो हप्ता छोराहरु र पत्नी मिलेर एकजना नेपालीको हत्या गरे, उनलाई पनि शहीद घोषणा गर्नुपर्छ । किनकि ती पनि पक्कै कुनै न कुनै पार्टीका सदस्य थिए ।

कांग्रेसले भन्नुपथ्र्यो– कारागारमा पनि सुरक्षा दिन नसक्ने गृहमन्त्री राजीनामा गर ! त्यस्तो मान्छेलाई गृहमन्त्री बनाउने प्रधानमन्त्री राजीनामा गर ! निश्पक्ष छानविन गर ! दोषीलाई कारबाही गर ! कानूनी राज्यको पद्धतिलाई लागू गर ! कारागारमा ज्यानको सुरक्षा गर्न नसक्ने सरकार क्षतिपूर्ति दे ! यस्तो घटना नदोहोरिन आवश्यक प्रबन्ध गर ! आदि आदि । तर त्यसो भएन र हुने पनि छाँट छैन । र कांग्रेस भन्दैछ– कमिलालाई शहीद घोषणा गर् ! हत्या मुद्दा फिर्ता गर ! यी सबै अरु केही होइन ‘विनासकाले विपरित बुद्धि’ भनेको यही हो । चेतना भया ।

- महर्षि गौतम
(साभारः नेपाली सन्देश साप्ताहिक)

 

 

Add comment

Security code
Refresh

Compare Remittance to Nepal

Compare Cheap Fllights to Nepal