Share on facebook

त्रिभुवनको शालिक र बाबुराम

करीब दुई  हप्ता भयो नेपालमा शहीदको नै बढी चर्चा हुने गरेको  छ । तर यो चर्चा आकासजत्रो  विश्वास, आस्था र निष्ठा पालेर देश तथा समाजको लागि आत्म बलिदान गर्ने नेपाली सपुतहरुको सपना पुरा गर्ने सवालमा होइन । न यो चर्चा शहीदहरुलाई राष्ट्रले प्रदान गर्नुपर्ने सम्मानबारेमा नै हो ।

कमिला समूह र चमेरा समूहबीचको लडाइँमा  ज्यान गुमाएका एक डनलाई  शहीद घोषणा गर्नुपर्ने मागलाई नै लिएर गत हप्ता बढी चर्चा  भयो । यस्तो घटना देख्दा देख्दै पनि शहीदको हैसियत माग गर्नेहरु पनि गत हप्ताहरुमा चर्चाका राम्रा पात्र बने । त्यस्तैगरी जातीय भेदभावबिरुद्ध कार्यरत एक सामाजिक कार्यकर्ता पनि गत हप्ता शहीदको रुपमा दर्ता हुने सवालमा चर्चाको पात्र बन्न पुगे । उनको शहीदमा दर्ता हुने प्रक्रिया पनि सुरु भयो । तर इन्सेक भन्ने एक संस्थाले जातीय भेदभाव भन्दा पनि व्यक्तिगत रिसईबीको भूमिका रहेको कुरालाई प्राथमिकता दिएर प्रतिवेदन निकालेपछि ती ‘प्रस्तावित शहीद’ पनि विवादमा मुछिए । अब सरकारले के गर्ने हो त्यो भने हेर्न नै बाँकी छ ।

यो हप्ता  शहीदको अर्को विषयले प्रवेश पायो । शहीदगेटमा शहीदहरुको  शिर बनेर ‘शहीद’को नेतृत्व गरिरहेका राजा त्रिभुवनको शालिक सरकारले हटाउने निर्णय ग¥यो । यो निर्णयले पनि अहिले काठमाडौंको गफाडीबजारमा निकै राम्रो हैसियत बनाएको छ ।

राजा त्रिभुवन कुनै शहीद होइनन् । बरु  उनी त शहीद बनाउन लालमोहर  लगाउने व्यक्ति हुन् । राणाले मृत्युदण्डमा लालमोहर लाउन आउँदा यदि उनले लाउदिन भनेको भए शहीदगेटमा उनी  मुनी शालिक राखिएका सपुतहरुले  ज्यान गुमाउनु पर्ने  थिएन । भारतको शरणमा पुगेर ‘त्वम् शरणम्’ गरेर शाह वंशीय निरंकुश शासन स्थापना गर्ने त्रिभुवनलाई शहीद भन्नु र चितवनका डनलाई शहीद बनाउनु एउटै कुरा हो । त्रिभुवन र महेन्द्र नेपाल राष्ट्रका तत्कालीन अवस्थाका डनहरु हुन् । अहिलेका मनाङ्गे, चक्रे, घैँटे, चरी, गणेश लामाजस्ता नै हुन् त्रिभुवन र महेन्द्र राजाहरु ।

प्रधानमन्त्री भएपछि नेपाल स्वर्ग नै बनाइहाल्छन् भनेर नेपालका  मिडियाले जुरुक्क उचालेका  डा. बाबुरामले अरु केही नलछारे पनि यो एउटा भने  यसो ‘स्याबास’ भन्ने खालको काम भने गरे । तर त्रिभुवनको शालिक नारायणहिटी दरवार नपुग्दै उनी नै आफै प्रधानमन्त्री पदबाट खुस्किने हुन् कि कुनै भरोसा छैन । सँगसँगै शहीदहरुको टाउकामा बसेका त्रिभुवनलाई शहीदहरुको हूलबाट निकाले पनि फेरि डनहरुलाई शहीद घोषणा गर्ने पो हुन् कि ! यो पनि कुनै भर छैन । किनकि सिंहदरवारको कुर्सी पाउन उनले जति हुने नहुने गरे, जोगाउन पनि उनी त्यत्तिकै गर्दैछन्  । त्यसैले बाबुरामको पनि कुनै भरोसा छैन । आखिर नेपाली राजनीतिज्ञ नै हुन् उनी पनि । सत्ता उनलाई पनि प्यारो छ ।

साभार : नेपाली सन्देश साप्ताहिक


Submitted by: Maharshi Gautam

Add comment

Security code
Refresh

Compare Remittance to Nepal

Compare Cheap Fllights to Nepal