Star Tours
Share on facebook

पाँच अर्ब लगानीमा टाइगर प्यालेस रिसोर्ट

Tiger Palace Resort

बुटवल : रूपन्देहीको कोटिहवामा पाँचतारे टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा आएको छ । हङकङको सिल्भर हेरिटेज ग्रुपको पाँच अर्ब २० करोड लगानीमा रिसोर्ट सञ्चालनमा आएको हो ।रिसोर्ट फुल फेजमा सञ्चालन हुन अझै दुई महिना लाग्नेछ । तिलोत्तमा नगरपालिकाको कोटिहवामा १५ बिघा क्षेत्रफलमा बनेको रिसोर्ट काठमाडौं बाहिरको सबैभन्दा धेरै लगानी भएको संरचना हो ।

यस रिसोर्टमा चार सय कोठा हुनेछन् । हङकङ बेस सिल्भर कम्पनी अस्ट्रेलियाको सेयर बजारमा सूचीकृत कम्पनी हो । यसकै लगानीमा बनेको यस रिसोर्टमा करिब दुई महिना अघिदेखि २४ घण्टे रेस्टुरेन्ट सञ्चालनमा छन् ।

'हामी २४ घण्टे रेस्टुरेन्ट सेवासहित सञ्चालनमा आएका छौं, लगानीकर्तामध्येका एक नवराज बजगाईंले भने, 'दुई महिनाभित्र फुल फेजमा सञ्चालन हुनेछ ।' हाल एक सय ५० कोठा सञ्चालनमा छन् ।

टाइगर प्यालेसमा क्यासिनो पनि सञ्चालन हुनेछ । यो प्रविधिका हिसाबले दक्षिण एसियाकै ठूलो क्यासिनो रहने लगानीकर्ताको दाबी छ । क्यासिनो निर्माणमा मात्रै दुई अर्ब लगानी गरिएको छ ।

यो रूपन्देहीमा सञ्चालनमा आएको पहिलो पाँचतारे रिसोर्ट हो । भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै लुम्बिनी क्षेत्रआसपास स्वदेशी तथा विदेशी लगानीकर्ताले अर्बौं लगानीमा होटल निर्माण गरिरहेका छन् । संरचनाको दृष्टिकोेणले टाइगर रिसोर्ट निकै फरक र आकर्षक छ ।

लुम्बिनी विश्वस्तरीय सहरका रूपमा विकसित हुँदै गरेकाले हङकङका लगानीकर्ताले लुम्बिनीको १९ किलोमिटर टाढा यति धेरै लगानी गरेका हुन् । रिसोर्टले तेस्रो मुलुकसँगै भारतीय पर्यटकलाई लक्ष्य गरेको छ ।

भैरहवामा मिनी क्यासिनो भए पनि त्यसमा पर्याप्त सुविधा छैन । भारतीय ती पर्यटकको चाहनालाई सिल्भर ग्रुपको यो रिसोर्टले पूरा गर्ने बजगाईंले बताए । क्यासिनोमा एकै पटकमा चार सय जनाले सेवा लिन सक्ने बताइएको छ । क्यासिनो सञ्चालनका लागि स्वीकृति लिने प्रक्रिया सुरु भइसकेको छ भने सरकारबाट पाँचतारे होटलको स्वीकृति पाइसकेको छ ।

भारतबाट आठ किलोमिटर मात्रै टाढा रहेको यो रिसोर्टमा दैनिक पाँच सय भारतीय पर्यटक भित्याउने अपेक्षा छ । लुम्बिनीमा घुम्न आउने पर्यटकलाई पैसा खर्च गर्ने माध्यम टाइगर रिसोर्ट हुुने विश्वास लिइएको छ । यस क्षेत्रमा २४ घण्टा चल्ने होटल छैनन् । यसको परिपूर्ति टाइगर प्यालेसले गर्नेछ ।

क्यासिनो सञ्चालनका लागि स्वीकृति लिने प्रक्रिया सुरु भइसकेको छ । क्यासिनोमा एकै पटकमा चार सय जनाले सेवा लिन सक्नेछन्।

पाँचतारे सुविधा सहितको रिसोर्टले स्तरीय पर्यटकलाई आकर्षित गर्ने योजना बनाएको छ । 'खान खाने पोको बोकेर लुम्बिनी आउने पर्यटकले देशलाई फाइदा छैन', बजगाईंले भने, 'हामीले स्तरीय पैसा खर्च गर्ने पर्यटक आकर्षित गर्ने संरचना बनाएका छौं ।'

यहाँ निर्मित ६ वटा रुमबाट सीधै स्विमिङ पुलमा पौडी खेल्न सक्नेछन् । जिम क्लब, क्यासिनो, डान्स, चिल्ड्रेन पार्कलगायत संरचना निर्माण भइसकेका छन् । १५ सय जना अट्ने ठूलो हलसहित मिनी हलसमेत बनाइएको छ । यसको भौतिक संरचनाले करिब तीन बिघा जमिन ओगटेको छ ।

सिल्भर ग्रुपले मंगोलियन मूलका पर्यटकलाई लुम्बिनी निम्त्याउँदै सेवा प्रवाह गर्ने योजना बनाएको छ । काठमाडौंमा मिलिनियर क्लबसहित भियतनाम, लाओस, कम्बोडिया, फिलिपिन्समा करिब दुई दर्जन होटल तथा रिसोर्ट सञ्चालनमा आएका छन् । यो रिसोर्ट पनि सोही चेनमा आबद्ध छ ।

२२ सय रोजगार

टाइगर रिसोर्टले २२ सय जनालाई रोजगारी दिएको छ । स्थानीयलाई पहिलो प्राथमिकतामा राखेर रोजगारी उपलब्ध गराइएको बजगाईंले बताए । कोटिहवाको रिसोर्टआसपास पर्यटन विशेष आर्थिक क्षेत्रका रूपमा विकास गर्ने दीर्घकालीन योजना राखिएको छ । रिसोर्टले रोजगारी सिर्जना गरेपछि स्थानीय उत्साहित बनेका छन् ।



News Source:  annapurnapost.com

Compare Cheap Fllights to Nepal