पिटरबरो नेपाली समाज यू.के.ले नेपालमा बालबालिकाहरुको प्राथमिक शिक्षा र स्कूलको भौतिक संरचनाको सहयोगको लागि ६०० पौण्ड रकम सहयोग गरेको छ । नेपालमा बालबालिकाको शिक्षाका लागि विगत आठ वर्षदेखि काम गर्दै आएको “किड्स एट स्कूल इन नेपाल” नामक च्यारिटी संस्था मार्फत सो सहयोग उपलब्ध गराएको हो ।पिटरबरो नेपाली समाजका अध्यक्ष श्री महेश अधिकारीले उक्त च्यारिटी संस्थाको वार्षिक साधारण सभामा स्वयं उपस्थित भई यही मार्च २४ तारिख संस्थाका प्रमूख ट्रष्टी आर्थुर बेनबोलाई चेक हस्तान्तरण गर्नुभएको हो । सो संस्थाको वार्षिक साधारण सभा नर्थ योर्कसायरको शेटलमा यही मार्च २४–२५ तारिख भएको थियो । उक्त कार्यक्रममा नेपालबाट “बालबालिका र स्कूल” संस्थाको प्रतिनिधित्व गर्दै मण्डली मा.वि.स्कूल, फुलखर्क, धादिङका शिक्षक श्री नवराज अधिकारीको पनि उपस्थिति थियो । पिटरबरो नेपाली समाजले गतवर्ष तिहारमा देउसी भैलो खेली उक्त रकम नेपालका विपन्न बालबालिकालाई सहयोग गर्ने उद्देश्यले संकलन गरेको थियो ।
नर्थ योर्कसायरको शेटल गाउंमा बस्ने ८० वर्षिय विश्व साइकल यात्री आर्थुर बेनबो आफ्नो विश्व साइकल यात्राको क्रममा २००३ मा नेपाल गएको बेला नेपालका प्राथमिक स्कूलमा पढ्ने विद्यार्थीहरु र स्कूलको दयनीय अवस्था देखेर केही गर्ने अठोट लिएर उनी बेलायत फर्केका थिए । उनी बेलायतमा फर्के लगत्तै “किड्स एट स्कूल इन नेपाल” संस्था च्यारिटीमा दर्ता गरी नेपालका विभिन्न स्कूलमा सहयोग गर्न थाले । “किड्स एट स्कूल इन नेपाल” ले नेपालको “विद्यालय र बालबालिका” नामक संस्थासंग सहकार्य गरी अहिलेसम्म यो संस्थाले धादिङको फूलखर्क वरपरका आठवटा प्राथमिक तथा माध्यमिक विद्यालयलाई र काठमाण्डौंको सांखुस्थित एक स्कूल गरी हालसम्म नौवटा स्कूललाई सहयोग गरिसकेको छ । विद्यालयको भौतिक संरचना निर्माण गरीदिने लगायत पुस्तकालय र कम्प्युटर प्रदान गर्नुका साथै शिक्षकहरुलाई आवश्यक तालिम जस्ता कार्यमा संस्थाले उल्लेख्य सहयोग गर्दै आएको छ । संस्थाले पहिलो कार्य थालेको काठमाडौं सांखुको स्प्लेण्डिड भ्याली स्कूलको नयां भवन निर्माण गरी सो भवन हाल स्थानीय निकायलाई नै हस्तान्तरण गरिसकेको छ ।
हालै संस्थाको आमन्त्रणमा वार्षिक साधारण सभामा सहभागी हुनुभएका पिटरबरो नेपाली समाजका अध्यक्ष महेश अधिकारीले बेलायतका गाउंमा बस्ने प्राय रिटायर्ड जीवन विताईरहेको उक्त समूहले नेपालको गाउंमा गरेको यो अभियानबाट आफू निकै प्रभावित भएको बताउनु भएको छ । किड्स एट स्कूल इन नेपालको सोही वार्षिक साधारण सभाले आफूलाई ट्रष्टीमा मनोनयन गरेको पनि श्री अधिकारीले बताउनु भयो । बेलायतमा रहेका नेपालीहरुले पनि यस अभियानलाई साथ दिन सकेमा नेपाली बाल बालिकालाई सहयोग गर्ने यी विदेशीहरुलाई थप सहयोग र हौसला पुग्ने कुरा उहांले बताउनुभएको छ । बेलायतमा बस्ने नेपालीहरुले आफ्नो देश नेपालका बालबालिका लागि आर्थिक, भौतिक वा प्रत्यक्ष सहभागी भई सहयोग गर्न चाहेमा “किड्स एट स्कूल ईन नेपाल” संस्था मार्फत सहयोग गर्न सकिने संस्थापक एवं ट्रष्टी आर्थुर बेनबोले बताउनु भएको छ । सहयोगीहरुलाई उनीहरुको कुनै पनि सहयोग कहां, कसरी सदुपयोग भईरहेको छ भन्ने कुरा संस्थाले जानकारी गराउने गरेको कुरा पनि उहांले बताउनु भयो । साथै यस संस्थामार्फत सहयोग गर्न ईच्छुक बेलायतवासी नेपालीहरुले पिटरबरो नेपाली समाजसंग सम्पर्क राखी सहयोग गर्न सकिने कुरा अध्यक्ष श्री अधिकारीले बताउनु भएको छ ।
| Sun Jun 23 @18:30 - Non-stop Comedy Show |
| Sun Jun 30 @19:00 - Premiere show: Daughters of Dolma |
| Sat Jul 13 @13:00 - Literature Programme on Bhanu Jayanti |
| Sat Jul 20 @08:00 - Swindon Cup 2013 |
| Sat Aug 03 @17:00 - Nepathaya Live at Wembley Arena |
| Sat Aug 17 @18:00 - Kosheli Annual Cultural Programme |