नरेश खपांगीमगर
छोराछोरी १८ पुगून् वा १९ वर्ष, नेपाली समाजमा त्यति ठूलो अर्थ रहन्न । नागरिकता पाउनका लागि अचेल १८ वर्ष कुर्नै पर्दैन । १८ वर्ष पुग्नासाथ काम पाइने पनि होइन । नराम्रो काममा लाग्नलाई उमेर छेक्दैन ।
तर, बेलायतमा १८ वर्षले धेरै अर्थ राख्छ । १८ वर्ष नपुगी चुरोट किन्न जाँदा पसलेले उमेर खुलेको प्रमाण खोज्छ । मदिरा किन्न जाँदा उसै गर्छन् । राजीखुसीमै पनि १८ वर्षमुनिकासित शारीरिक सम्बन्ध राख्न पाइँदैन । अझ त्योभन्दा ठूलो कुरा त १८ वर्ष पुगेपछि किशोर/किशोरीहरू बालिग हुन्छन्, बाउआमाबाट अलग हुन्छन्, आफ्नै जीवन बिताउन स्वतन्त्र हुन्छन् ।
नेपाल र बेलायतबीच रहेको यही सांस्कृतिक र कानुनी अन्तरको कोपभाजनमा परेर हजारौं नेपालीको परिवार अहिले टुक्रिएको छ । बेलायती सेनामा काम गरेका गोर्खाहरूलाई बेलायतले आवासीय भिसा दिएपनि उनीहरूका १८ वर्षमुनिका छोराछोरीहरूलाई मात्र बेलायतको आवासीय भिसा नदिँदा यो समस्या भित्रिएको हो । यही समस्याका कारण भूपू गोर्खा सैनिकका परिवार अहिले कोही नेपालमा, कोही बेलायतमा र कोही हङकङमा छन् । छोराछोरीहरू जतिवर्ष पुगेपनि विवाह नभएसम्म बाउआमाको साथमा रहने नेपाली परम्परा र संस्कृति अहिले यहाँ धुजाधुजा हुन भएको छ । ड्युटीमा बेलायतको कठिन जीवन बिताउने बाउआमाहरू फुर्सदको समयमा नेपालमा रहेका छोराछोरी सम्झेर पिरोलिँदै समय बिताउँछन् ।

पीडा थरीथरीका
सन् २००८ सेप्टेम्बर ३० मा बेलायती उच्च अदालतले सबै गोर्खा सैनिकहरूलाई बेलायतको आवासीय भिसाका लागि योग्य ठहर्*याएपछि गोर्खा सैनिकहरूको बेलायतमा भित्रिने क्रम बढेको छ । यसभन्दा पहिले २००४ को सेप्टेम्बर ३० मा सन् १९९७ जुलाई १ भन्दापछि बेलायती सेनाबाट रिटायर्ड भएका गोर्खा सैनिकहरूलाई मात्र बेलायतले आवासीय भिसा दिने गरेको थियो । सन् १९९७ भन्दा पछि रिटायर्ड भएका गोर्खा सैनिकहरूका छोराछोरी कलिलै भएकाले ओभर १८ को समस्या आइपरेन । तर, सन् २००८ को फैसला तथा सो फैसला कार्यान्वयन गर्न बेलायत सरकारले सन् २००९ मार्च २१ मा जारी गरेको गोर्खासम्बन्धी नयाँ अध्यागमन नीतिअनुसार बाँचेसम्मका भूपू सैनिकहरू तथा उनीहरूका विधवालाई आवासीय भिसा दिन थालेपछि 'ओभर १८' को समस्या चर्किएको हो ।
धीरेन लिम्बू आफ्ना बाबु हर्षबहादुर लिम्बूको उपचारका लागि बेलायत आउन हतारिएका छन् । त्यसो त बाउआमा दुइटैलाई बेलायतमा उपचार गराउने उनको चाहना थियो । आवासीय भिसाका लागि उनले सन् २००६ देखि नै पहल पनि गरेका थिए । त्यतिखेर सन् १९९७ भन्दा अघि रिटायर्ड भएकालाई बेलायतको आवासीय भिसा दिने नियम थिएन । त्यसैले नेपालको कमसल उपचारका कारण उनकी आमा यस संसारबाट बिदा भइन् । तैपनि उनले बेलायतको आवासीय भिसाका लागि प्रक्रिया जारी नै राखे । हिँडडुल गर्न नसक्ने बाबु र उनको भरथेग गर्न आफूलाई बेलायत जान पाऊँ भनी भिसाका लागि काठमाडौंस्थित भिसा सेन्टरमा आवेदन दिए । लामो समयपछि बाबुको भिसा लाग्यो, धीरेनको लागेन । अहिले धीरेन चरम निराशामा छन् । एक्लो, बिरामी र वृद्ध बाबुलाई कसरी बेलायत पठाउनु ? आफू साथै जाऊँ भने बेलायतले भिसा दिँदैन ।
"आमालाई उपचार गराउन लैजान्छु भन्दाभन्दै बित्नुभयो, अब बाउलाई उपचार गराउन लैजान खोज्दा भिसा दिएन । अब बाउको पनि उपचार गर्न नपाइएलाजस्तो छ," उनले भने । अहिले उनले भिसा अफिसमा पनि भिसा रिजेक्ट गर्ने निर्णय पुनरावलोकन गर्न निवेदन दिएका छन् । रिजेक्ट लेटरमा बाबुसित उनको विशेष सम्बन्ध देखाउन नसकेको कारण देखाइएको छ, जसलाई उनले अहिलेसम्म बुझ्न सकेका छैनन् । बिरामी बाबुको उपचारका लागि उनीसित पूर्णरूपमा आश्रति एकमात्र छोरालाई भिसा नदिइनुको कारण उनी खोजिरहेका छन् ।
भिसा रिजेक्ट हुनेहरूको सूचीमा तेलबहादुर गुरुङ पनि पर्छन् । बेलायतको आवासीय भिसाका लागि आवेदन गरिरहेकै बेलामा तेलबहादुरका बाबु प्रेमबहादुरको निधन भयो । अहिले तेलबहादुरकी आमा भिसा पाएर बेलायतमा छिन् । वृद्ध र अस्वस्थ अवस्थाकी उनकी आमाको हेरविचारका लागि जतिसक्दो चाँडो बेलायत आउन चाहन्छन् तेलबहादुर । आमाको टाउकोको गम्भीर अपरेसनका लागि बेलायतको अस्पतालमा मिति तय भइसकेको छ । तेलबहादुरको हातमा बेलायतका चिकित्सकहरूले लेखिदिएको 'अपरेसनका बेला नजिकका आफन्तलाई ल्याउनू' भन्ने चिठ्ठी पनि छ, जो उनले काठमाडौंस्थित भिसा अफिसमा पनि बुझाएका थिए । तर, बेलायती भिसा अफिसरको मन ढुंगाको रहेछ, तेलबहादुरले भिसा पाउनुको साटो रिजेक्ट लेटर पो पाए ।
धीरेन र तेलबहादुर त प्रतिनिधि पात्रमात्र हुन् । अहिले दिनहुँ नागपोखरीको भिसा सेन्टरमा रुञ्चे अनुहार लिएर भिसा रिजेक्टको चिठ्ठी च्याँप्दै घर फर्किनेहरू प्रशस्त देख्न पाइन्छ । एक महिनाअघि भिसा रिजेक्ट भएका एक युवाको भनाइमा भिसा नपाउने ओभर १८ हरूको संख्या अहिलेसम्ममा करिब ७/८ सय छ ।

अभिभावकको व्यथा उस्तै
छोराछोरीले बेलायतको भिसा नपाउँदा बेलायत आइपुगेका अभिभावकको मन खुसी छैन । बेलायत आइपुगेका पदमबहादुर रानालाई अहिले चैन छैन । भन्छन्, "हामी सबैको भिसा आयो सँगै अप्लाई गरेको छोराको भिसा आएन । अहिले हामी युके आयौं, छोरा नेपालमा छ । एक्लै बसेको छोराले के गरिरहेको छ, चिन्ता लागेको छ ।" उनका छोराले अहिलेसम्म जागिर खाएका छैनन्, बिहे पनि गरेका छैनन् । कलेज पढ्दैछन् । क्षुब्ध पदमबहादुर भन्छन्, "अहिलेसम्म मैले नै उसको सबै खर्च बेहोरिरहेको छु। उसलाई किन बाउआमाबाट छुट्याइएको हो ? छुट्याउनुपर्ने कारण के हो ?"
युके आउँदा पनि छोरालाई केही खर्च दिएका रहेछन् उनले । ७२ वर्षीय पदमबहादुर अहिले ६३ वर्षे श्रीमतीका साथ बस्दैछन् । उनलाई पनि बेलायतमा जीवन धान्न गाह्रो भइरहेको छ- सहाराको अभावमा । भन्छन्, "अंग्रेजी आउँदैन । नेपालीको पसलबाहेक अरुतिर जान सक्दिनँ । गाइड नभई कतै जान सक्दिनँ । बुढो भइयो, आँखा र कानले राम्रो भेउ पाउँदैन । फोनमा अंग्रेजीमा कुरा गर्छन्, म बुझ्दिनँ, एसएमएस पढ्न जान्दिनँ । दिनको एउटा चिठ्ठी र्झछ अंग्रेजीमा, म बुझ्ने भए पो !"
पदमबहादुर दम्पती भन्छ, "यहाँ त सबै अंग्रेजीमा हुँदारहेछन् केही चलाउनै मुस्किल । ऊ (छोरो) युके आउन पाए हामीलाई मद्दत गर्थ्यो ।"

के हुन्छ रिफ्युजल लेटरमा ?
दिल्लीस्थित बेलायती हाइकमिसनमा नेपालबाट युके भिसाका लागि अप्लाई गरेकाहरूको टुंगो लगाइन्छ असाध्यै ढिलोगरी । कसैकसैको त आवेदन गरेको वर्षदिन पुग्न लागिसकेको छ । आवेदन गर्नेहरू भन्छन्, "भिसा आइहाल्ला अनि युके जान पाइएला भनेर पढाइ अगाडि बढाउन पनि मनलागेन, अरु विकल्पहरूतिर लाग्न पनि पाइएन । हामी त दिनदिनै अप्लिकेसन ट्रयाकिङ गर्छौं, बस्छौं ।"

३ पेज लामो भिसा रिफ्युजल लेटरमा इन्ट्री क्लियर अफिसरले लेख्ने कारण प्रायः सबै एउटै हुन्छ । बाउसित विशेष सम्बन्ध देखाउन नसकेको, नेपालमा काका, मामा भएको, बेलायत जानैपर्ने प्रष्ट कारण नदेखिएको, भिसा पाउनका लागि विशेष अवस्था नभएको, दयनीय अवस्था नभएको आदि । १८ वर्ष नाघेको एकजना मात्र छोरा वा छोरीलाई पनि बेलायतले भिसा दिएको छैन । नियमित पढिरहेकाहरूले पनि भिसा पाएका छैनन् । नेपालमा मामा भएका कारण भिसा रिफ्युज भएका एक युवाले रिफ्युजल लेटरमा लेखिएको कारणको प्रतिवाद गर्दै भने, "पहिले मेरो युकेमा काका छन्, मामा छन् भनेर मेरो बाउको भिसा अप्लाई गर्दा उनीहरूसित नजिकको सम्बन्ध देखाउन नसकेको भन्दै रिजेक्ट गर्*यो, अहिले नेपालमा तेरो काका, मामा छन् भन्दै रिजेक्ट गर्*यो ।"

कोर्टले जितायो, हाइकमिसनले दिएन
भिसा रिफ्युज भएकाहरूलाई हाइकमिसनको निर्णय चित्त नबुझे २८ दिनभित्र अपिल गर्न मौका दिइएको हुन्छ । रिफ्युज भएका प्रायःले पुनरावलोकनका लागि आवेदन गर्ने गरेका छन् । नेपालमा ≍वो एन्ड कम्पनीका वकिलहरूले पुनरावलोकनका लागि सहयोग गरिरहेका छन् । 'जेन्युइन केस'मा मात्र हवो एन्ड कम्पनीले अपिल गर्ने गरेको बुझिएको छ । उसले ओभर १८ को जेन्युएन मुद्दा हेर्न बेलायतबाट कानुनी सहायता पाएको छ । गेसोले आफूमार्फत आवेदन गरेकाहरूको भिसा रिजेक्ट भएमा कम्पनीमा पठाउने गरेको कोषाध्यक्ष जितबहादुर राई बताउँछन् ।
यसैगरी ब्रिटिस गोर्खा वेलफेयर सोसाइटी (बीजीडब्लुएस) मार्फत आवेदन गरी रिफ्युज भएकाहरूले पनि पुनरावलोकनका लागि आवेदन गरिरहेका पब्लिक रिलेसन अफिसर प्रकाश गुरुङ बताउँछन् । तर, अहिलेसम्म पुनरावलोकनको परिणाम भने आइसकेको छैन ।
भिसा रिफ्युज गरिएका ओभर १८ का रजिनभाइ राईको केसमा भने अदालते जिताउँदा पनि हाइकमिसनले भिसा दिनुको साटो रिजेक्ट लेटर दिइरहेको छ । उनले दुईपटक अदालतबाट मुद्दा जितिसकेका छन् तर अझै भिसा पाएका छैनन् । राई पनि के कम- अझै लडिरहेकै छन् ।

कोही छ उनीहरूका लागि बोल्ने ?
ओभर १८ को समस्याका बारेमा गोर्खा भूतपूर्व सैनिकका पक्षमा लड्दै आइरहेका संस्थाहरूको धारणा के छ त ? गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का कोषाध्यक्ष जितबहादुर राई भन्छन्, "हामी यो समस्यालाई त्यत्तिकै छाड्दैनौं । बेलायतको जुन कानुनअनुसार गोर्खाहरूलाई व्यवहार गरियो, त्यो कानुन नै अन्यायपूर्ण छ भन्ने बेलायती अदालतले फैसला गरिसकेको छ । त्यस्तो अवस्थामा गोर्खाहरूका आश्रतिलाई विशेष किसिमले हेरिनुपर्छ । अरु आप्रवासीलाई जस्तो व्यवहार गर्न मिल्दैन । हामी गोर्खा सैनिकहरूले पनि बेलायतले दिँदैन, पाउँदैन भनेर खुट्टा तान्नुहुँदैन । सबै समूहगतरूपमा जानुपर्छ । हिजो पनि सन् १९९७ भन्दा अगाडिको गोर्खालाई मात्र दिन्छु भनेको हो नि बेलायतले । आखिरमा नियम नै परिवर्तन गर्न बाध्य हुनुर्*यो । त्यसैगरी लाग्ने हो भने ओभर १८ ले पनि पाउनेछन् ।"
ब्रिटिस गोर्खा वेलफेयर सोसाइटी (बीजीडब्लुएस) का पब्लिक रिलेसन अफिसर प्रकाश गुरुङ ओभर १८ को केसमा बेलायत सरकारले केसबाइ केस हेरेर दिन्छु भनिसकेकोले गोर्खाहरूले जबर्जस्ती दिनुपर्छ भन्दा बेलायत सरकारले मान्लाजस्तो छैन भन्छन् । "छोराछोरीको केस जेन्युइन छ भने ग्राउन्ड दरो हुन्छ र जित्न सकिन्छ । हाम्रो भनाइ जबर्जस्ती हुनैपर्छ भन्ने छैन । जेन्युइनहरूका लागि गरिरहेकै छौं," उनले भने ।
युबीजीईए युकेका संयोजक ज्ञानराज राई आफूहरूले ओभर १८ को केसलाई लिएर बेलायतका गृहमन्त्रीसित भेट गर्न खोजिरहेको बताउँछन् । "हामी अदालत जाँदैनौं, राजनीतिक र कूटनीतिक माध्यमबाट जान्छौं । बेलायती सांसद्हरूलाई भनेर बेलायती गृहमन्त्रीसित भेट्न खोजिरहेका छौं," उनले भने, "ओभर १८ लाई रोक्न सकियो भने बुढा गोर्खाहरूलाई पनि रोक्न सकिन्छ । त्यसो भएमा बेलायतको खर्च कम हुन्छ भनेर यो बेलायत सरकारले फालेको जाल हो ।"

दीर्घकालीन असर
बेलायतले भिसा देला/नदेला आफ्नो ठाउँमा छ तर ओभर १८ का युवा-युवतीहरूमा भने भिसा रिफ्युजलले तत्काल र दीर्घकालमा मानसिक र आर्थिक असर पार्ने देखिन्छ । ≍वो एन्ड कम्पनीमा कार्यरत एक स्वयमसेवीका अनुसार प्रायः रिफ्युज भएकाहरू अब के गर्ने होला, कसो गर्ने होला भन्ने द्विविधामा छन् । मानसिकरूपले विक्षिप्त छन् । "कोही रिसाएर आउँछन्, रिफ्युज भएका केटीहरू त रिफ्युजल लेटर बोक्ने अवस्थामा पनि हुँदैनन्," उनले भने । ललिता र विष्णु पुनकी एकजना छोरी त रिफ्युजल लेटर लिएर पुनरावलोकन गर्न जाँदै तीनपटक बेहोस भएकी थिइन् ।
त्यसो त ओभर १८ लाई भिसा आवेदन गर्न भिसा शुल्क पनि महँगो लाग्छ । भिसा अफिसको वेबसाइटका अनुसार अहिले प्रतिव्यक्ति २ लाख १ हजार ६०० रुपैयाँ भिसा फि लाग्छ । त्यति फि संकलन गर्न गरिब गोर्खाहरूले घरखेत नै बेच्नुपर्ने अवस्था छ ।

.................................................. ..........

पारिवारिक बिछोडको पीडा

रसमुर बोरो काउन्सिलअन्तर्गत अल्डरसटस्थित GU 11 1LY नम्बरको घर एकबहादुर रानाको नयाँ घर हो । काठमाडौंमा जन्मिएका रानाले गोर्खा सैनिक हुँदाको एक दशकबाहेक बाँकी समय काठमाडौंमै बिताए । ७० वर्षको उमेरसम्म पनि आफैले नंग्रा खियाएर ज्यादै दुःख कष्ट खेपेर परिवारको पालनपोषण गरे तैपनि उनी खुसी थिए, कारण- साथमा परिवार थियो । अहिले उनी बेलायतको जीवनशैलीमा प्रवेश गरेका छन् । यहाँ जीवनको गुणस्तरमा ठूलो परिवर्तन आएको छ । यहाँ कहिल्यै धारामा पानी रोकिएला भन्ने पीर छैन । न कहिल्यै चुल्होमा ग्याँस रित्तिएला भन्ने डर । न त बिजुली-बत्ती नआई अँध्यारोमा बस्नु पर्ला भन्ने भय । बन्द-हड्ताल भएर खानेकुरा किनेर नपाइला कि, फोहोरमैलाको अव्यवस्थापनले महामारी फैलिएला कि, बेलैमा उपचार नपाएर पो मरिएला कि ? यस्ता कुनै पनि चिन्ताले चिहाउनै नपाउने बेलायती जीवनशैलीमा थपिएको छ वृद्धभत्ता, काउन्सिलको निःशुल्क घर, यताउति आउन-जान सित्तैमा बस पास आदि आदि । यद्यपि उनको अनुहारमा रत्तिभर खुसी छैन । कारण- यी सबैथोक भएर पनि अहिले उनीसित छैन पूर्ण परिवार ।
जीवनको उत्तरार्द्धमा अमिलो अनुभूति लिँदै दिन काट्दैछन् ८० वर्षीय एकबहादुर । श्रीमती उमा र २ छोरा उनको पूर्ण परिवार हो । त्यसमध्ये मेनेन्जाइटिसले ग्रसित कान्छो छोरा महेश बेलायत आउन पाए पनि जेठा छोरा प्रकाशले भिसा पाएनन् । कहिल्यै घरबाहिर नबसेको छोरालाई नेपालमा एक्लै छोडेर आउनुपर्दा एकबहादुर आधामासु भएका छन् । खाना खाँदा पनि उनै (प्रकाश)लाई सम्झन्छन् । साँझ पर्*यो, घर आयो आएन भन्ने चिन्ता उनैको हुन्छ । घाम चर्किंदा होस् वा झरी बर्सिंदा, आँखा वरिपरि छोराकै चित्र नाचिरहन्छ । कसले खाना पकाइदेला, के खाला, कसले कपडा धोइदेला, फोहरी भएर पो हिँडिरहेको छ कि आदि पीरहरुले मन कुँडिइरहन्छ उनको । भन्छन्, "नेपालमा शान्तिसुरक्षाको व्यवस्था पनि राम्रो छैन, केटाहरु कुलतमा लागेर बिग्रिन पनि के बेर ?"

त्योभन्दा पनि ठूलो चिन&